एजेन्सी– जारी टी–२० विश्वकप छनोटमा पपुवा न्युगिनीले जित निकालेको छ। आइतबार भएको खेलमा पपुवा न्युगिनीले नामेबियालाई ८१ रनले हराएको हो।
१ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नामेबिया १७ं.१ ओभरमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो। नामेबियाको पारीमा कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। उसका लागि क्रिस्टी भिल्जोइनले सर्वाधिक १७ रन जोडे। निकोलस डेभिनले १५ तथा पिक्की या फ्रान्सले १३ रन बनाए।
पपुवा न्युगिनीको लागि असाद भालाले उक्कृष्ट बलिङ गरे। उनले ३ ओभरमा १९ रन दिँदै ३ विकेट लिएका थिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो। पपुवा न्युगिनीको पारीमा टानी उराले विष्फोटक ब्याटिङ गरे। उनले मात्र ४२ बलमा ६ चौका र ४ छक्काको मद्धतमा ७१ रन बनाए। अर्का ब्याट्सम्यान असाद भालाले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४८ रनको गोगदान दिए।
नामेबियाका जान फ्राइलिङकले ३ विकेट हात पारे। उनले २ ओभरमा १८ रन खर्चिएका थिए। त्यस्तै कृष्टि भिल्जोइनले ३ ओभरमा ३७ रन दिँदै २ विकेट लिए।