काठमाडौं– माघ १ गतेबाट ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना सुरु हुने भएको छ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार सही तथ्यांक ल्याउने उदेश्यका साथ २०७८ सालको राष्ट्रिय जनगणनाको नमुना जनगणनाको कामलाई सुरु गर्न लागेको हो।
केन्द्रिय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो। नमूना जनगणनाका लागि १५ जना सुरीवेक्षण, ६० जना गणक र अन्य ४७ जना गरी जम्मा १ सय २२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ।
यसअघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट भने विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ।सबै प्रदेशको २/२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६ सय १० घर परिवार सहभागी हुने विभागको अनुमान छ। विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान गरेको छ।