एजेन्सी– टी– २० विश्वकप छनोटमा ओमानले जित हात पारेको छ। आइतबार भएको खेलमा ओमानले हङकङलाई ७ विकेटले पराजित गरेको हो।
हङकङले दिएको १ सय ३ रनको विजयी लक्ष्य ओमानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। ओमानका लागि अक्विब ल्याएसले सर्वाधिक ३७ रनको योगदान दिए। उनले ३३ बलको सामना गर्दै ४ चौका हानेका थिए। त्यस्तै ओमानको जितमा कप्तान जिशन मक्वसुदले २४ रन, जतिन्दर सिंहले २३ रन र खवर अलीले १५ रन बनाए। हङकङको बलिङमा किञ्चित शाहले किफायती बलिङ गर्दै १ विकेट लिए। उनले ४ ओभरमा १८ रन दिए। त्यस्तै वाक्वास बर्कतले १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो। हङकङको लागि निजाकत खानले सर्वाधिक ३१ रन बनाए। उनले ३३ बलमा १ चौका हानेका थिए। त्यस्तै वाक्वास बर्कतले १९ तथा किञ्चित शाहले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानको जितमा आमिर कलिमले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १४ रन दिँदै ३ विकेट हात पारे। अर्का बलर खावर अलीले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए।