चितवन— चितवन मेडिकल कलेजको लापारवाहीका कारण बिरामीको ज्यान गएको भन्दै आन्दोलन भएको छ। बिरामीका आफन्तले मेडिकल कलेजमा तोडफोड गरेका छन्।
नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको उपचारको क्रममा अस्पतालमा निधन भएपछि स्थिति तनावग्रस्त बनेको छ। असोज २७ गते नाकको शल्यक्रिया गरेपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनको निधन भएको थियो।
उनकाे मृत्युपश्चात आक्रोशित बनेका उनका आफन्तले अस्पताल परिसर पस्ने गेट र भवन छिर्ने मुख्य ढोकामै ढुंगामुडा गरेका थिए। प्रहरीले भीडलाई नियन्त्रण गर्न अश्रुग्याससमेत प्रहार गरेको थियो।
आशाकाे निधनपश्चात आफन्त र अस्पताल प्रशासनबीच वार्ता भएपनि सहमति हुन सकेन। जसको कारण आफन्तहरुले प्रदर्शन गर्दै अस्पतालमा तोडफोड गरेका थिए। प्रहरीले १२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनमा उत्रिएकालाई नियन्त्रणमा लिने क्रममा प्रहरीसमेत घाईते भएको बताइएको छ।