काठमाडौं _ अमेरिकामा हुने तेक्वान्दो प्रतियोगिताको लागि पाँच खेलाडी छनोट भएका छन्।
सन् २०२० को मेमा हुने अन्तर्रा्ष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि पाँच खेलाडी छनोट भएका हुन्।
रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ गरी ५ खेलाडी छनोट भएका हुन्।
त्यसमा पुरुष ३ र महिला २ छन्। पुरुषमा सीतापाइलाका सैलेशराज गिरी, कोटेश्वरका रञ्जित साउद र मैत्रीका दिनेश सुनार छनोट भए। महिलामा आयशा तामाङ तथा सुस्मिता मोक्तान छन्। दुवै सीतापाइलाका हुन्। छनोटसंगै पाँचै खेलाडीले समान १–१ लाख नगद पुरस्कार पनि पाए।
आईओएफटीसी र मैत्री तेक्वान्दो डोजाङको सहयोगमा चितवनको रत्ननगरमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका विवेक केसी तथा महिलामा सरित सौरहाकी स्नेहा परियार उत्कृष्ट खेलाडी घोषित भए। पुम्सेमा भ्याली डिभिजनकी रोशनी श्रेष्ठ उत्कृष्ट खेलाडी बनिन्।
गोविन्द सापकोटा उत्कृष्ट निर्णायक तथा भैरहवाका कोसिश खड्का अनुशासित प्रशिक्षक चुनिए। इच्छा मनकामनाले उत्कृष्ट सहभागिताको पुरस्कार पायो। सबै ६ विधाका उत्कृष्टले समान २५–२५ हजार नगद पुरस्कार हात पारे।
प्रतियोगितामा विभिन्न ५४ स्पर्धामा ७ सय बढी खेलाडीले सहभागिता जनाएका थिए।