काठमाडौँ, ११ माघ– चलचित्र ‘शुभ लभ’को टाइटल गीत सार्वजनिक भएको छ। राजधानीमा बुधबार एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो। युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु अभिनय रहेको चलचित्रको यस गीतमा निशान भट्टराई र मीना सिंहको आवाज रहेको छ। गीतमा हरिहर र नायिका कृष्टिना पौडेललाई देख्न सकिन्छ।
अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ। चलचित्रमा युवा ज्योतिष हरिहरले रियल लाइफकै विषयमा आफ्नो भूमिका रहेको बताएका छन्। ‘शुभ लभ’ चैत १५ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको निर्देशन सन्तोषबाबु लोहनीले गरेका छन् भने बुद्ध इन्टरटेनमेटको ब्यानरमा तयार भएको हो।
चलचित्रका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् भने धर्मराज शर्मा सुवेदी निर्माता रहेका छन्। चलचित्रका निर्देशक लोहनीले कथावस्तुमा हरिहर फिट हुने भएकाले उनलाई लिएको बताउँदै उनले भने, ‘चलचित्रमा उहाँ ज्योतिषकै भूमिकामा हुुनुहुन्छ। यो रोल उहाँबाहेक अरूलाई फिट थिएन।’
हरिहरकै कथामा आधारित यस चलचित्रमा हरिहर, कृष्टिना, डाक्टर सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, दीपक बाँस्तोला, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ। बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको यस चलचित्रमा रोशनविक्रम भट्टराईको द्वन्द्व र रामेश्वर कार्कीको छायाङ्कन रहेको छ।
https://youtu.be/mc9bv-MNz6o