काठमाडौं — सन् २ वर्षपछि सञ्चालनमा आउने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले बिदेशीको खोजी गरिरहेको छ।
अहिले निर्माणाधिन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशीको खोजी गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ।
यही क्रममा मन्त्रालयले पोखरा विमानस्थल सञ्चालनका लागि पनि विदेशी कम्पनी खोजी गर्न निर्देशन दिएको छ। सरकारले जीटुजी प्रक्रियाबाट अपरेटर खोजी गर्ने तयारी गरेको हो।
प्राधिकरण निकट अधिकारीहरुका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मन कम्पनीसँग छलफल अन्तिम चरणमा पुगेको छ। प्राधिकरणले अहिले विमानस्थल सञ्चालनको जिम्मा दिंदा आम्दानी बाँडफाँडको मोडालिटीका बारेमा आन्तरिक अध्ययन गरिरहेको छ।
भैरहवा विमानस्थल सन् २०२० को पहिलो महिनाबाट निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयार हुने बताइएको छ। पोखरा विमानस्थलको भौतिक कामको प्रगति ५० प्रतिशत पुगेको छ। सन् २०२० को अन्तिमसम्म निर्माण सम्पन्न गरिसक्ने चिनियाँ ठेकेदारले जानकारी गराएको छ।