काठमाडौं– नेपाली क्रिकेट जगतमा घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान हुन् सन्दीप जोरा। नेपाली क्रिकेटलाई अहिलेको उचाईसम्म ल्याउनको लागि फरक-फरक खेलाडीले फरकफरक खेलमा आफ्नो क्षमता प्रदर्शन गरेका छन्। तीमध्येका एक खेलाडी हुन् सन्दिप पनि।
बिहानीले दिनको सङ्केत गर्छ भनेझैँ यूएईमा सम्पन्न टी–२० र एक दिवसीय क्रिकेटमा सन्दीप जोराले प्रस्तुत गरेको खेल र बनाएको कीर्तिमानले उनी नेपाली क्रिकेटका उदाउँदा भविष्य हुन् भन्ने प्रष्ट भएको थियो। हुने विरुवाको चिल्लो पात भनेझैँ उनको कलिलो उमेरको प्रदर्शनले यो त पक्का नै भैसककेको थियो, उनले भोली देशको नै प्रतिनिधित्व गरेर क्रिकेट खेल्छन् भनेर।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित खुलामञ्चबाट क्रिकेट खेल्न सुरु गरेका सन्दीप सानै उमेरदेखि मेहनत गर्थे। सानै उमेरदेखि नै उनी घर नजिकैको नहर छेउको सडक र खाली समयमा खेतबारीमा समेत क्रिकेट अभ्यास गर्थे। पहिले क्रिकेटको नाम लिँदा गाली गर्ने परिवार सन्दीपको सफलताबाट खुशी र उत्साहित छ।
जता–जता क्रिकेट प्रतियोगिता हुन्थे, त्यहाँ सन्दीप पुगी हाल्थे। प्रतियोगितामा सहभागी मात्रै होइन, उनी हरेक खेलमा दर्शकको नजरमा पर्थे। आफूलाई उदयमान क्रिकेट खेलाडीको रुपमा सावित गर्थे उनी। उसो त घरेलु क्रिकेट राम्रो प्रदर्शन गर्ने भएकाले पनि सन्दीपको हरेक प्रतियोगितामा खोजी हुन्थ्यो। क्षमतावान सन्दीपको कोठामा म्यान अफ दि म्याच, म्यान अफ द सिरिज, इमर्जिङ प्लेयर, वेष्ट ब्याट्सम्यानका ट्रफीहरु सन्दीपको दराजभरि छन्।
‘खेलमा भविष्य छैन, त्यता नलाग, पढाईमा ध्यान दे भन्दै गाली गर्थें, उसले कहिले पनि मानेन, उसका लागि क्रिकेट नै संसार हो, जति बेला पनि क्रिकेट खेल्न पुगेको हुन्थ्यो,’ सन्दीपकी आमा राधादेवी जोराले भनिन, ‘त्यति बेला सन्दीपले गरेको कोसिसको प्रतिफल सिंगो देशले पायो, मेरा छोराले साँच्चै राम्रो काम गरेको रहेछ।’
राधादेवीलाई छोराको पौरखप्रति गौरव छ। अब त क्रिकेट खेल्न आफै पठाउँछिन् उनी। ‘उसलाई क्रिकेट भनेपछि पुग्यो, न घर, न परिवार, न आफन्त, खाना नखाई भागेर हिँड्थ्यो, क्रिकेट खेल्न भनेपछि पस्केको खाना छोडेर हिँड्थ्यो मेरो छोरो’ उनले भनिन् ‘छोराको लक्ष्य पूरा होस् भनेर कामना गर्छु।’ छोराका पछिल्लो प्रगति देखेर आफू निकै खुशी रहेको उनले बताइन्। फोनमा कुरा हुँदा ‘आमा, पहिले गाली गर्नुहुन्थ्यो, अब मेरो चिन्ता नलिनु, क्रिकेटमै अझै राम्रो गर्छु,’ भन्ने गरेको राधादेवीले बताइन्।
सन्दीपका काका तर्कबहादुर जोराले नहर छेउमा केटाकेटी जम्मा गरेर खेल्ने गरेको सम्झिए। ‘हामीले पनि क्रिकेटको बारेमा बुझेका थिएनौँ, पढाईतिरै राम्रो गरोस् भन्ने सबैका चाहना थियो, तर सानैदेखि सन्दिपको मिसन क्रिकैट नै हुन्थ्यो,’ उनले भने, ‘अहिले उसले राम्रै प्रगति गरिरहेको छ, त्यसले हामीलाई पनि गर्व महसुस भएको छ, खुसी छौँ,’ सन्दीपका काका तर्कबहादुरले अगाडि थपे।
केही महिना अघिसम्म आफ्नो लक्ष्यबारे कुनै सोच नबनाएका सन्दीपका भाई मनोज जोराले पनि आफू भविष्यमा क्रिकेटर बन्ने मनसाय बनाइसकेका छन्। सन्दीप क्रिकेटरका रुपमा चिनिन थालेपछि आफूमा पनि दाजुजस्तै खेलाडी बन्ने चाहाना भएको मनोजले बताए। उनी दाजुको सफलताबाट निकै उत्साहित भएका छन्। त्यस्तै सन्दीपकी बहिनी मनिषा जोराले पनि दाजुको उपलब्धिबाट आफूलाई प्रेरणा मिलेको बताइन्। ‘मलाई सन्दीपकी बहिनी भन्न पाउँदा निकै खुशी लाग्छ, दादाको सफलता नै हामी सबैको खुशी हो,’ उनले भनिन्।
कञ्चनपुरका सहायक क्रिकेट प्रशिक्षक गणेश आग्रीले सन्दीप सानै उमेरमा नै प्रतिवान खेलाडीको रुपमा स्थापित भएको बताए। आठ वर्षको उमेरबाट कञ्चनपुर क्रिकेट एकेडेमीमा आबद्ध सन्दीप निकै मिलनसार र मिहनती खेलाडी भएको प्रशिक्षक आग्रीको भनाई छ। उनले क्रिकेटका लागि भौतिक पूर्वाधारमा अभाव रहेको कञ्चनपुर राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रयस्तरका खेलाडी उत्पादनमा देशकै अग्रस्थान पर्ने बताए।
कञ्चनपुरका क्रिकेटरले भारतीय खेलाडीहरुसँग खेल्ने अवसर पाउने भएकाले उनीहरुको प्रदर्शन राम्रो हुने गरेको सहायक प्रशिक्षक आग्रीको भनाई छ। सन्दीपले २०७० सालमा धनगढीमा भएको यू–१६ क्षेत्रीय प्रतियोगितामा कञ्चनपुरबाट खेलेका थिए। उक्त प्रतियोगितामा सर्वा्िधक रन बनाउने खेलाडी बनेपछि उनले उदीयमान युवा खेलाडीको परिचय पाएका हुन्।
पहिलो एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा कान्तिपुर गोर्खाजबाट अब्बल प्रदर्शन देखाएपछि सन्दीपले क्रिकेट प्रेमीको नजर ताने। इपीएलपछि नै यू–१९ एशिया कपको छनौटमा परेका थिए।
नेपाली क्रिकेट जगतमा अन्डर १९ बाट आफ्नो यात्राको आरम्भ गरेका सन्दीपले छोटो समयमा नै सिनियर टोलीमा स्थान बनाए। २०१९ को जनवरीमा युएईविरुद्ध खेल्दै उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु गरेका थिए। टी–२० डेब्युमा नै उनले कितिर्मान बनाए। युएईविरुद्धको टी–२० खेलमा नट आउट ५३ रन बनाउँदै नेपालको तर्फबाट कम उमेरमा टी–२० क्रिकेटमा अर्धशतक बनाउने खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाए।
त्यस्तै वान डे इन्टरनेश्नल क्रिकेटमा पनि युएईविरुद्ध नै डेब्यु गरेका सन्दिपले नेपालको उदयमान खेलाडीको रुपमा आफूलाई परिचित गराएका छन्। पहिलो एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा कान्तिपुर गोर्खाजबाट अब्बल प्रदर्शन गरेका सन्दीपले इपीएलपछि नै यू–१९ एशिया कपको छनोटमा स्थान बनाएका थिए।
आज कात्तिक ४ गते, क्रिकेट जगतका राइजिङ स्टार सन्दिपको जन्मदिन। नेपाली क्रिकेटसँगै उनी विश्व क्रिकेट जगतमा छुट्टै पहिचान बनाउन सकुन्। क्रिकेटबाटै अझै धेरै सफलताको शिखर चुम्न सकुन्।
दीघार्यु, सुस्वास्थ्यको कामनासँगै ह्याप्पी बर्थ डे सन्दिप!