एजेन्सी– पछिल्लाे समय नेपाली फिल्म अवार्डहरु धमाधाम रुपमा विदेशमा हुने प्रचलन बढ्दो छ। चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड ‘२०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ।
आइतबार राजधानीमा एक कार्यक्रमका बीच नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुने जानकारी दिइएकाे हाे। ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए।
कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्डको उद्देश्य रहेको बताए।
हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी दिए। युसी थिएटरमा पहिलो पटक नेपाली कार्यक्रम हुन लागेको हो। ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्।
त्यस्तै कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उदेश्यले कलाकार सहितको सहभागितामा डिसेम्बर १ मा बर्कली सिटीको मुख्य सडक नै बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए।