बिराटनगर — तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ। प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ।
उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन्। सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन्।
दियो प्रतिदर्जन रु १२, कलश जोडीको रु ५०, धुपुरो सानो प्रतिगोटा रु ५० र ठूलो रु ८०, ठूलो दियो प्रतिगोटा रु ३०, हण्डी रु १५ देखि रु ६० सम्ममा तथा मटकुरी रु १५ देखि रु ४० सम्ममा बिक्री वितरण हुने गरेको छ। व्यापारी निकै उत्साहित भएका छन्।
विराटनगरका व्यापारी सन्तोष पण्डित माटोको भाँडा बनाउने मेशिन कामदारको अभावमा बन्द गरेर राख्नुपरेको बताउछन्। ‘माटोको भाँडा बजारबाट किनेर बेच्ने गरेको छु’, उनले भने। माटोका सामग्री बाह्रैमास बिक्री वितरण हुने गरेको पण्डितले बताए। ‘अरू बेलाभन्दा तिहारमा धेरै बिक्री हुन्छ, उनले भने।
माटोका भाँडावर्तन विवाहका अवसरमा पनि अत्यधिक मात्रामा बिक्री हुन्छ। माटोबाट तयार पारिएका भाँडोमा बिरयानी, दही जमाउन तथा कुल्फिका लागि बढीजसो प्रयोग गरिन्छ। प्लास्टिकको सामग्री बिक्रीमा कमी आएको छ। आफूहरुको पुस्तैनी व्यापार भएकाले यसैका भरमा परिवारको पालनपोषण गर्दै आएको व्यापारी पण्डितको भनाइ छ।
व्यापारी देवनारायण साह माटोको भाँडाको व्यापारबाट आफू खुशी रहेको बताउनहुन्छ। तिहारमा घर–घरमा दियो बाल्ने परम्परका कारण माटोका सामग्री बिक्री बढी हुने गरेको उहाँको भनाइ छ। अर्का व्यापारी पप्पु साहले माटोको भाँडा किन्न भारतको चिमडीया, सोनापुर र सुनसरीको देवानगञ्जबाट समेत आउने गरेको बताउनुभयो। व्यापारीले माटोका सामग्री तीन महीना अघिदेखि नै निर्माण गर्न लगाउने गर्छन्। (रासस)