काठमाडौं– वुमन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले पहिलो जित निकालेको छ। सोमबार भएको खेलमा पोखराले ललितपुर फाल्कोन्सलाई ६ विकेटले हराएको हो।
ललितपुरले दिएको १ सय २३ रनको विजयी लक्ष्य पोखराले १७.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको हो। पोखराको जितमा कविता कुँवरले शानदार प्रदर्शन गरिन्। उनले ४२ बलमा १० चौकाको मद्धतमा नटआउट ६१ रन जोडिन्। अर्की ब्याट्सम्यान बिन्दु रावलले ४४ बलमा ४० रन बनाइन्। ललितपुरको बलिङमा ममता चौधरीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिइन्। अर्की बलर नेरी थापाले ४ ओभरमा २६ रन खर्चिएर २ विकेट हात पारीन्।
त्यसअघि टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो। ललितपुरको लागि ममता चौधरीले अर्धशतक बनाएपनि टोलीलाई जिताउन सकिनन्। उनले ५१ बलमा ५२ रन बनाएकी थिइन्। उनले त्यसक्रममा ७ चौका प्रहार गरिन्।
पोखराको बलिङतर्फ सिता राना मगरले २ विकेट लिइन्। नविना खड्का, अन्जली चन्द र रजमती ऐरीलेसमान एक एक विकेट हात पारे। ललितपुरको यो लगातार चौथो हार हो। पोखरा ४ खेलमा ३ मा हार र १ मा जितका साथ चौथो स्थानमा रहेर प्रतियाेगिताबाट बाहिरियो भने ललितपुर फाल्कोन्स जितविहिन हुँदै पुछारमा रहेर बाहिरियो।