एजेन्सी — अमेरिका तथा बेलायतका वैज्ञानिकहरुले क्यान्सर रोगको जन्मको कारण थाहा पाउने प्रयास स्वरुप संयुक्त अनुसन्धान सुरु गरेका छन्।
क्यान्सरको सुरुवाति लक्षण थाहा पाउने र रोग सुरु हुनु पूर्व नै त्यसको जोखिम न्यूनिकरण गर्नका लागि सहयोग होस् भन्ने उद्देश्यसहित अमेरिकी र बेलायती वैज्ञानिकले अनुसन्धान सुरु गरेका हुन्।
क्यान्सरलाई सुरुकै चरणमा पत्ता लगाउने प्रयासका लागि सुरु भएको संयुक्त प्रयास सर्वसाधारणका लागि अति नै फाइदाजनक हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन्। वैज्ञानिकहरुले अनुसन्धानको क्रममा प्रयोगशालामा ‘क्यान्सरलाई जन्म दिने’ र रोगको पहिलो दिनमा के वा कस्तो हुने रहेछ भनेर थाहा पाउने योजना बनाएका छन्।
बेलायतको क्यान्सर रिसर्च सेन्टरले बेलायतकै क्याम्ब्रिज विश्वविद्यालय, युनिभर्सिटी कलेज लण्डन तथा अमेरिकाका स्टानफोर्ड र ओरिगन विश्वविद्यालयसँग सहकार्य गरेर अनुसन्धान थालेको हो। अनुसन्धानकर्ताले उच्च जोखिममा रहेकाहरुको रगत, स्वास तथा पिसाबसहितको परीक्षण र त्यसबाट आउने रिपोर्टलाई अति स्पष्ट बनाउनका लागि प्रयास गर्ने तयारी थालेका छन्।
यसका लागि प्रविधिगत रुपमा परिवर्तन गर्ने प्रयासमा पनि छन् उनीहरु। यसबाट क्यान्सरसहितका रोगहरु सुरुवाति चरणमै थाहा पाउन सकियोस् भन्ने लक्ष्य छ। तर यो प्रक्रिया अति नै कठिन रहेको र यसका लागि अबको ३० वर्षसम्म लाग्न सक्ने अनुसन्धानको नेतृत्व गरिरहेका डा. डेविड क्रोस्बीले बताएका छन्।