मोरङ– सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ। आगलागि हुँदा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सोमबार बिहान करिब २ बजे ख्याम्पुका चन्द्रप्रकाश कोइरालाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
आगलागीका कारण कोइरालाको करिब ८० लाख रुपैयाँको क्षति भएको प्रहरीले बताएका छन्। त्यसैगरि सोही घरमा कोठा भाडा लिई बस्दै आएका रमेशकुमार राईको स्टोर्समा रहेको जुत्ता, चप्पल, कपडा, किराना सामानसमेत आगलागीबाट पूर्ण रुपमा जलेका छन्।
प्रहरीका अनुसार राईको स्टोर्समा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनाको सन्दर्भमा बिहान करिब ४ बजे अस्थायी प्रहरी चौकी सल्यानबाट खटिएको उद्धार टोली र स्थानीयको सहयोगमा सवा ६ बजे बिहान आगो नियन्त्रणमा आएको सोलुखुम्बु प्रहरीले जनाएको छ।