एजेन्सी - भारतको राँचीमा जारी दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा पनि भारत जित नजिक पुगेको छ। तेस्रो टेष्टको तेस्रो दिन भारतले तयार गरेको ४ सय ९७ रनको योगफल पछ्याएको दक्षिण अफ्रिकाले पहिलो ईनिङ सकिँदा सबै विकेट गुमाएर १ सय ६२ रन मात्र जोडेको थियो।
पहिलो ईनिङमा ३ सय ३५ रनले पछि परेको दक्षिण अफ्रिकालाई भारतले फलो अनका लागि निम्तो दिएको थियो। त्यसपश्चात् दोस्रो ईनिङ ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले ८ विकेट गुमाइसकेको छ। उसले दोस्रो इनिङमा ८ विकेटको क्षतिमा १ सय ३२ रन जोडेको छ।
दक्षिण अफ्रिका अहिले पनि २ सय ३ रनले पछि रहेको छ। भारतले दक्षिण अफ्रिकाको बाँकी २ विकेट २ सय ३ रन बनाउनु अघि लिन सके इनिङसहित जित हासिल गर्नेछ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो ईनिङमा ४ सय ९७ रन बनाएको थियो। भारतले ९ विकेट गुमाउँदै ४ सय ९७ रनमा ईनिङ घोषणा गरेको थियो। भारतका लागि रोहित शर्माले शानदार दोहोरो शतक प्रहार गरेका थिए।
उनले २ सय ५५ बलमा २८ छक्का र ६ छक्काको मद्धतमा २ सय १२ रन बनाएका थिए। अर्का बयाट्सम्यान अजिङ्क्या रहाणेले १ सय ९२ बलमा १ सय १५ रन बनाए।
दक्षिण अफ्रिकाको पहिलो ईनिङमा जुबायर हम्जाले सर्वाधिक ६२ रन बनाए। उनले ७९ बलमा १० चौका र १ छक्का प्रहार गरेका थिए। दक्षिण अफ्रिकाविरुद्धको पहिलो इनिङमा भारतका उमेश यादवले ३ तथा मोहम्मद शामी, शहबाज नादिम र रविन्द्र जडेजाले समान २–२ विकेट लिए।
भारतले सिरिजअन्तर्गतको यसअघिको दुबै खेल आफ्नो पक्षमा पारेर सिरिज कब्जा गरिसकेको छ।