काठमाडौं– नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ।
केरुङको स्थानीय सरकारको आयोजनामा नेपाल हस्तकला महासङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म उक्त मेला आयोजना गरेको हो।
मेलामा धातुका मूर्ति, पश्मिना, थाङ्का, ऊनी, फेल्ट, टेक्साइल, गार्मेन्ट तथा चाँदीका गरगहना प्रदर्शन गरिएका महासङ्घका उपनिर्देशक ऋषिराज सुवेदीले जानकारी दिएका छन्।
‘नेपाली हस्तकला सामानको चीनको बजारमा प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य हो, उनले भने। मेलामा नेपाली २५ कम्पनी तथा फार्मले हस्तकला प्रदर्शन गरेका छन्।
यस्तै मेलामा ‘बी टु बी’ छलफल हुनेछ। केही दिनअघि मात्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको भ्रमणमा आउनु र चीनमा नेपाली हस्तकला प्रदर्शन हुनुले नेपाल–चीन सम्बन्धलाई झन् मजबुद बनाएको महासङ्घले जनाएको छ। (रासस)