जुम्ला– यतिबेला जुम्लाका किसान कालीमार्सी धान भित्र्याउन व्यस्त छन्।
दशैँ सकिएलगत्तै जुम्लाका किसान धमाधम धान काट्न थालेका छन्। चन्दननाथ–३ का किसान अम्मर नेपालीका अनुसार मार्सी धान पाकेर दाना झर्ने अवस्था भइसकेर किसानलाई धान काट्न चटारो भएको छ
‘अहिले जुम्ली मार्सी चामलको माग बजारमा बढ्दै गएको छ, मार्सी चामलको बजारभाउ प्रतिकिलो रु १२० रहेको छ, र व्यापारी चामल खरिद गर्न घरघरमा पुगिसकेका छन्,’ उनले भने, ‘मार्सी चामलको चर्चा जतिनै उत्पादनमा मेहेनत पनि छ।’ यहाँका किसानले चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिममा भित्र्याउने गर्छन्।
चन्दननाथ–६ का किसन जयराज भारतीका अनुसार वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती बढेको हुनाने खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको छ। कृषि विकास कार्यालयले जुम्लामा कूल दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको जानकारी दिए।