काठमाडौं– विभिन्न ११ बुँदे माग राख्दै बंगलादेशका क्रिकेटरहरु हडतालमा उत्रेका छन्। आफ्ना माग पूरा नहुँदासम्म क्रिकेटका कुनै पनि गतिविधिमा भाग नलिने उनीहरूको निर्णय छ।
भारत भ्रमणका लागि बन्द प्रशिक्षण सुरु हुन लाग्दा क्रिकेटरहरु आन्दोलित बनेका हुन्। उनीहरुको ११ बुँदे मागपत्रमा बंगलादेश प्रिमियर लिग फ्रेन्चाइज मोडलमै हुनुपर्नेदेखि फस्ट क्लास क्रिकेटरको तलब बढाउनुपर्नेसम्म छन्।
यस्ता छन् बंगलादेशी क्रिकेटरका मागः
– क्रिकेटर वेलफेयर एशोसिएनको नेतृत्वले राजीनामा दिनुपर्छ र खेलाडीहरुले मत दिएर नयाँ कमिटी बनाउनुपर्छ।
– ढाका प्रिमियर लिग पुरानै अवधारणाअनुसार हुनुपर्छ जसमा खेलाडीहरुलाई टिम छनोट र आफ्नो तलबबारे वार्ता गर्ने अधिकार हुनेछ।
– बंगलादेश प्रिमियर लिग फ्रेन्चाइज मोडलमै हुनुपर्छ र स्थानीय खेलाडीहरुको न्यूनतम मूल्य विदेशी खेलाडीको सरह हुनुपर्छ।
– फस्र्ट क्लास क्रिकेटरको तलब कम भयो। यसलाई प्रतिखेल एक लाख टाका अर्थात १२०० डलर बनाउनुपर्छ।
– जिम, इण्टरनेट, मैदानमा सुधार गर्नुपर्छ।
– प्रशिक्षक र फिजियो वर्षभरका लागि हुनुपर्छ।
– बलको गुणस्तर र खेलाडीको भत्तामा सुधार हुनुपर्छ।
– टिमको होटल जिम र स्विमिङ पुल भएको एक वा दुई स्टारभन्दा माथिल्लो स्तरको हुनुपर्छ।
– ग्राउण्ड स्टाफ, स्थानीय प्रशिक्षक, अम्पायर, फिजियो, ट्रेनर लगायतको तलब व्यवसायिक रुपमा नै बृद्धि गर्नुपर्छ।
खेलाडीहरु हड्तालमा उत्रिएपछि बंगलादेश क्रिकेट बोर्डले मंगलबार नै आपत्कालीन बैठक बोलाएको छ। नेसनल क्रिकेट लिग खेल्न खेलाडीहरुलाई सहमत गराउन बोर्डसँग ४८ घन्टाभन्दा पनि कम समय छ। साथै नोभेम्बर ३ बाट भारत भ्रमण सुरु गर्नुछ।