काठमाडौं – नेपाली चलचित्रमा चक्लेटी नायक आकाश श्रेष्ठ आफ्नो भविष्य खोजिरहेका छन्।
चलचित्र ‘म त तिम्रै हुँ’बाट डेब्यू गरेका आकाश अहिले नायिका पूजा शर्मासँग निरन्तर चलचित्र गरिरहेका छन्। बक्स अफिसमा आकाश अभिनित चलचित्रको व्यापार हालसम्म सुखद भने छैन। उनी कात्तिक ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पोई पर्यो काले’बाट बढी आशावादी छन्।
आकाश आफू अझै पनि एउटा स्थान बनाउनका लागि संघर्ष गरिरहेको सुनाउँछन्। चलचित्र क्षेत्रमा आफ्नो स्थान अहिले नै कुन पोजिसनमा छ भन्ने आफूलाई थाहा नभएको उनले सुनाए। आकाश नायिका पूजासँग आफ्नो जोडी दर्शकले मन पराएका कारण पनि एकपछि अर्को चलचित्रको अफर आउने गरेको बताउँछन्।
यसपटक उनले चलचित्रको पर्दामा ‘प्ले ब्वाई’ भूमिका निर्वाहा गरेका छन्। आफ्नो वास्तविक जीवन भन्दा विल्कुलै उल्टो भूमिका गर्नुपर्दा उनलाई सुरुवाती दिनमा अप्ठ्यारो भने भएको थियो। यसैले पनि उनले १५ दिन भन्दा बढी वर्कशप नै गरेका थिए।
दर्शकले यसपटक आफ्नो भूमिका हेरेपछि आफ्नो बिषयमा के सोच्नुहोला भन्ने उनलाई ठूलो कौतुहलता लागेको छ । तर, आकाश चलचित्र गरेपछि आफ्नो रियल लाइफ शैली भने नबदलिने बताउँछन्।