काठमाडौं– कुनै बेला दुर्गेश थापाले गाएको ‘की दुर्गेश रेलमा कि दुर्गेश जेलमा’ गीत सबैको जिब्रोमा झुण्डिएको थियो। आज यो गीत उनकै जिवनमा मिल्न गएको छ। गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ।
देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ।
तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’ लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो।
उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आलोचना समेत भइरहेको छ।