काठमाडाैं — म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। विषेश गरि नेवार समुदायमा म्हः पूजा गर्ने चलन छ।
नेवारी भाषामा शरीरलाई म्हः भनिन्छ। हरेक वर्ष नेवारीहरु नेपाल संवत सुरु हुने दिनमा म्हः पूजा गर्ने गर्दछन्। विं सं ९ सय ३७ मा राष्ट्रिय विभूति शंङ्खरधर साख्वाले नेपाल संवतको सुरुवात गरे। म्हः पूजा यो भन्दा अगाडि देखि नै सुरु भएको मानिन्छ। यो वर्ष अर्थात २०७६ मा म्हः पूजा कार्तिक ११ गते सोमबारकाे दिन परेकाे छ।
परापूर्व कालमा किम्बदन्ती अनुसार नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएको थियो जसका कारणा जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ। खास आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ।
कसरी गरिन्छ म्हः पूजा?
म्हःपूजाका लागि परिवारको मूलीले पूजा अघि सारी आफ्नो आफैले पूजा गर्न लगाइन्छ। म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर चामलको पिठोले एकएकवटा मण्डल बनाइँछ।
नेवारी भाषामा यसलाई ‘मरङ्ग’ भनिन्छ। अबिर र सुन्तला गरि यो दुई रंगको हुन्छ। मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालि सजाइन्छ।
यो सबै सामानलाई माना, पाथी लगायतका सामानलाई राखेर टाउकोबाट खन्याउने गरिन्छ। पूजा गर्ने विधि र सामान ठाउँ अनुसार फरक हुन्छन्।