दमौली – तनहुँ उद्योग वाणिज्य सङ्घले गर्न लागेको सातौ तनहुँ महोत्सवबाट हुने आम्दानी सामाजिक काममा लगानी गरिने भएको छ। आगामी पुष २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवबाट हुने आम्दानी सामाजिक काममा लगानी गरिने सङ्घले जनाएको छ।
पैसा कमाउनका लागि मात्रै मेला महोत्सव आयोजना हुने गरेको गुनासो आउने गरेकोले महोत्सवबाट बचेको रकम सामाजिक क्षेत्रमा खर्च गरिने सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार महोत्सवबाट भएको आम्दानी व्यास नगरपालिका–३ स्थित भतेरीमा रहेको सार्वजनिक जग्गामा पूर्वाधार निर्माण र दमौली बजारमा हाटबजार सञ्चालनका लागि खर्च गर्ने योजना बनाइएको छ।
दमौलीमा मेला महोत्सव गर्न प¥यो भने ठाउँ अभाव भएको छ,’ श्रेष्ठले भने, ‘भतेरीमा रहेको सार्वजनिक जग्गामा मेला महोत्सव गर्न सकिने सम्भावना भएकोले त्यहाँ पूर्वाधार निर्माण गर्ने सोच बनाएका छौं।’ साथै जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको प्रशासनचोक नजिकको जग्गामा हाटबजार निर्माणका लागि महोत्सवको आम्दानी खर्च गरिनेछ।
गाउँ–गाउँबाट कृषकले ल्याएको कृषिउपज सामग्री विक्रीवितरणको व्यवस्था मिलाउन व्यास नगरपालिकासँग समन्वय गरेर हाटबजार सञ्चालन गर्ने योजना सङ्घको छ। दमौली सदरमुकाममा हाटबजार नहुँदा गाउँका कृषकले डोकोमा बोकेर सामग्री विक्री गर्नुपर्ने बाध्यता रहेकोले हप्ताको एक पटक हाटबजार सञ्चालन गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिएका छन्।
जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, कृषि, पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित महोत्सव गर्न लागिएको सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले जानकारी दिए। १४० स्टल रहने महोत्सवमा रु पाँच करोडको कारोवार हुने र चार लाखले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ।
महोत्सवको आकर्षण : मादीसेतीमा जलविहार, सांस्कृतिक ग्राम भ्रमण
महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ। सेती र मादीको सङ्गमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलविहार सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
‘दमौलीदेखि कोइदिमघाट हुँदै गाईघाटसम्म सीमित रुपमा जलविहार सञ्चालन हुने गरेको छ’, श्रेष्ठले भने, ‘मादीसेती नदीमा जलविहारको प्रचारप्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न महोत्सवले सहयोग पुग्नेछ।’
श्रेष्ठका अनुसार महोत्सव अवधिमा करीब एक हजार जनाले जलविहार गर्ने अनुमान छ। ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ।
महोत्सव अवलोकनका लागि दर्शकलाई मानहुँकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ।महोत्सवमा कृषिलाई विशेष प्राथमिकतामा राखेर १५ स्टल छुट्याइएको छ। महोत्सवस्थलबाटै कृषिजन्य सामग्री बिक्री वितरणको व्यवस्था मिलाइनेछ ।
कृषकलाई महोत्सवस्थलबाट सुन्तला, अदुवा, मास, तरकारीलगायतका सामग्री विक्री गर्न व्यवस्था मिलाइने सङ्घका महासचिव इमकुमार मल्लले जानकारी दिएका छन्। (रासस)