काठमाडौं– नायक प्रदिप खड्कासँग रोमान्स गरेर एकाएक चर्चामा आएकी नायिका मिरुना मगरले अभिनय गरेका ३ वटा चलचित्र हलमा लागिसकेका छन्। ‘लालपूर्जा, रोज र साइनो’ बजारमा आएपनि यी चलचित्रले व्यापार राम्रो गरेनन्। जसका कारण पनि मिरुनालाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ।
तर, नायिका मगरले काम गरेका चलचित्रले व्यापारिक रुपमा कमाल नगरेपनि उनको हातमा चलचित्रको अभाव भने छैन। उनी अभिनित चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट रिलिज हुँदैछ। अब, उनै मिरुनाले एउटा नयाँ चलचित्र साइन गरेकी छिन्। उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिरुनाले काम गर्ने पक्का भएको छ।
यो चलचित्रमा मिरुनाको साथमा नायक दयाहाङ राइ पक्का भएका छन्। दया र मिरुनाको यो चलचित्रको छायांकन कात्तिकको १४ गतेबाट सुरु हुँदैछ। चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहने भएकाले मिरुना अहिले चलचित्र ‘ च च हुई’को प्रचारमा व्यस्त छिन्।
उपेन्द्र चलचित्र ‘कबड्डी’ सिरिजका लेखक समेत हुन्। चलचित्र लेखनमा सफल भएपछि उनले चलचित्र निर्देशन गर्न लागेका हुन्। लेखन र निर्देशन दुवैमा उपेन्द्र कत्तिको सफल हुने त्यो उपेन्द्रकै हातमा छ। साथै मिरुना र दयाहाङको जोडीलाई दर्शकले कति रुचाउने त्यो हेर्न बाँकी नै छ।