काठमाडौँ, ११ माघ –चलचित्र ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमबीच दिउँसो १ बजेर २७ मिनेटमा युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो।
यस गीतमा निशान भट्टराई र अञ्जु पन्तको आवाज रहेको छ। हरिवंश आचार्यको शब्द र संगीत शम्भुजित बाँस्कोटाकोे छ। कलाकार हरिवंशले भने, ‘चलचित्रको विषयसँग सुहाउँदो गीत र चलचित्रको हाइपमा गीतको थप भूमिका रहनेमा म विश्वस्त छु।’
यस चलचित्रलाई कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन्। वैशाख १३ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा लिड कलाकार हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा र राजाराम पौडेल छन्। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
मह सञ्चारको ब्यानरमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन्। चलचित्रको पटकथा तथा संवाद हरिवंश आचार्यको रहेको छ। यस चलचित्रमा उनको जोडीका रूपमा नायिका निरुता सिंह रहेकी छन्। हरेक मानिसले दाल भात खान गर्नुपर्ने सङ्घर्षका आधारमा यो चलचित्र निर्माण भएको छ।कार्यक्रममा चलचित्र राम्रो बनाउन कुनै कञ्जुस्याइँ नगरेको प्रस्तुतकर्ता किरण केसीले बताए। साथै, गीतजस्तै चलचित्र पनि राम्रो बनेको उनी बताउँछन्।
चलचित्रमा विल्सनविक्रम राई, किरण केसी, यमन श्रेष्ठ, शिवहरि पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ। राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताउँदै यस चलचित्रलाई आफ्नो करियरको कोसेढुंगा हुनेमा आफू विश्वस्त रहेको नायक पुष्पले बताए। त्यस्तै यमन श्रेष्ठ, प्रमिला आचार्य, नरेन्द्र कंशाकार, शिवहरि पौडेललगायत कलाकार निर्माता रहेको यस चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका छन्। चलचित्र ‘दाल भात तरकारी’लाई दीर्घ गुरुङले खिचेका हुन्।
https://youtu.be/hvvBJWYAHJs