काठमाडौं– ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’,‘ड्रिम गर्ल’ फिल्मका निर्देशक ऋषिराज आचार्यले अर्को नयाँ प्रोजेक्ट ‘चुरिफुरि’ सुरु गरेका छन्। जसको अहिले प्रिप्रोडक्सन कार्य धमाधाम भइरहेको छ। आरबी मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको यतिबेला कलाकार छनौट कार्य भइरहेको छ। जसका लागि केही पुराना कलाकार छानिएका छन्। नयाँ अनुहारका लागि अडिसनमार्फत छान्ने तयारी भएको छ।
कथाअनुसार फिल्ममा नयाँ कलाकार राख्नुपर्ने भएकोले अडिसनमार्फत केही कलाकार छनौट गर्न लागेको निर्देशक आचार्य बताए। आचार्यका अनुसार अडिसन यहि कात्तिकको अन्तिमसाता आयोजना हुनेछ। अडिसनमा १८ देखि २५ बर्षसम्मका कम्तिमा पनि ५ फिट ३ इन्च उचाई भएका युवायुवतीले जुनसुकै यूवा यूवतीहरुले सम्पर्क गर्न सक्नेछन्।
अडिसनका लागि निर्देशक आचार्य, फिल्म तथा आरबी मुभिजमध्ये कुनै एकको फेसबुक पेजमा आफ्नो दुईप्रति हालसालैको फोटोसहित सम्पर्क गर्न सकिने छ । अडिसनका लागि सम्पर्कमा आएका व्यक्ति मध्येबाट फिल्मको लागि एक मुख्य हिरो र हिरोइन छानिने निर्देशक आचार्यले बताए । उनले भने, ‘छानिएका व्यक्तिलाई अभिनयका लागि आवश्यक विभिन्न प्रशिक्षणसहित फिल्ममा उतार्ने छौ।’
आगामी फागुनबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मको लेखन समेत निर्देशक आचार्यले नै गरेका छन्। समसामायिक विषयमा आधारित प्रेमकथा मिसाइको फिल्म आगामी तिजमा रिलिज गर्ने लक्ष्य निर्माण युनिटको छ।
स्वदशै बिभिन्न रमणीय ठाउँमा छायाँकन हुने फिल्मको अहिले गीतको काम समेत भइरहेको छ।