काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका दुई हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीच अहिले निकै चर्को विवाद चलिरहेको छ। मिडिया हबले भद्रगोलका पात्र र चरित्र चोरेको आरोपमा ‘सक्किगो नि’ टिमविरुद्ध प्रहरीमा उजुरी दिएपछि विवाद चर्केको हो।
उजुरी परेसँगै विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। मिडिया हबले उत्पादन गर्दै आएको भद्रगोलबाट कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतका कलाकार केही समयअघि अलग्गिएका थिए।
भद्रगोलबाट अलग्गिएका उनीहरुले उस्तै पात्र र चरित्रसहित ‘सक्किगो नि’ टेलिसिरियल उत्पादन थालेका थिए। तर यसअघि भद्रगोलमा रहेका पात्रहरु हुबहु चोरी गरेको भन्दै मिडिया हबले उजुरी गरेको हो।
मिडिया हबले उजुरी गरेपछि आइतबार प्रहरीले कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे पाँडे लगायतका कलाकारलाई बोलाएर सोधपुछ गरेको थियो। सोमबार दुवै पक्षलाई छलफलका लागि बोलाएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
यसैबीच मिडिया हबले उजुरी गरेपछि तनाबमा आएका कुमार कट्टेल जिग्रीले आफ्नै देशमा कलाकारिता गर्नु गल्ती हो भने आफूलाई हत्कडी लगाएर थुन्न आग्रह गरेका छन्।
‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस’, कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्। उनको यो भनाईले आफू मिडिया हबबाट बाहिरनुले गर्दा नै आफूमाथि यो आरोप लागेको संकेत गर्दछ।