बैतडी — डोजरले महिला हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।
दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो। डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएकी छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।
ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए। विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो। सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
‘मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ।’