एजेन्सी– युईएफए च्याम्पियन्स लिग फुटबलमा इटालीयन क्लब युभेन्टसले जित निकालेको छ। युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ गोलले हराएको हो।
मंगलबार राति युभेन्टसको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली मस्कोले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि एलेक्से मिरनचुकले ३० औं मिनेटमा गोल गरेका थिए। खेलमा राम्रो प्रभाव बनाएता पनि युभेन्टसले गोल गर्न भने सकिरहेको थिएन। पहिलो हाफमा १ गोलले पछि परेको युभेन्टसलाई अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले खेलमा फर्काएका थिए।
दोस्रो हाफको ७७ औं मिनेटमा उनले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याएका थिए। उनले जुवान कोर्डाडोको पासमा बललाइ पोष्टको दिशा दिएका थिए। त्यस्तै आक्रामक खेलेको युभेन्टसलाई स्पष्ट जित दिलाउन उनै स्टार डिबालाले व्यक्तिगत दोस्रो गोल गरे। उनले खेलको ७९ औं मिनेटमा एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा अन्य गोल नहुँदा युभेन्टसले २–१ गोलको पुनरागमन जित हात पारेको हो।
यस जितसँगै युभेन्टस समुहमा ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। एट्लेटिको मड्रिड समान ७ अंकको साथ शीर्षस्थानमा छ। यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन क्लब बायर लिभरकुसेनलाइ १–० ले पराजित गरेको थियो।