काठमाडाैं — माओवादीबाट फुटेर बनेको दल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ले वार्ताका निम्ति अघि सारेको सर्तबारे टिप्पणी गर्दै सरकारले छद्मभेषी कुराका पछि नलाग्ने बताएको छ।
विगतमा दुवै पक्षबीच भएका भनिएका वार्ता प्रयास सार्थक हुन नसकेको देखिएका बेला विप्लवले वार्ताको निम्ति केही सर्त सार्वजनिक गरेका थिए। विप्लवको हस्ताक्षरसहित असोज २०७६ मिति लेखिएको सोमवार जारी विज्ञप्तिमार्फत् केन्द्रीय समितिको निर्णय सार्वजनिक गरिएको छ।
उक्त विज्ञप्तिमा भनिएको छ, "सरकारले आफ्नो फासीवादी दमनलाई ढाकछोप गर्न वार्ता को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ।"
मन्त्रीको प्रश्न:पैसा किन दिने?
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यसलाई छद्मभेषी कुरा को सङ्ज्ञा दिए। उनले भने, "सरकार त्यस्ता छद्मभेषी कुराको पछि लाग्न मिल्दैन। उहाँहरूले त्यतिमात्र भन्नु भएको छैन। स्वैच्छिक चन्दा अभियान भनेर चन्दा आतङ्क गर्ने र के-के दस्ता निर्माण गर्ने कुरा पनि आएका छन्। ती पो पहिला बन्द गर्नुपर्यो त।"
स्वैच्छिक भनिएको आर्थिक सङ्कलन अभियान चलाउने विप्लवको दलको घोषणालाई उनले चन्दा आतङ्कको सङ्ज्ञा दिए। "कोसँग बढी पैसा हुन्छ र अनावश्यक रूपमा चन्दा दिनुपर्यो? आफ्ना कार्यकर्तासँग पैसा उठाएर पार्टी चलाउनु पर्यो नि।"
सरकारको पनि सर्त
यसअघि सरकारले विप्लवलाई बिनासर्त वार्तामा आउन आग्रह गरेको थियो। विप्लवको दलका सर्त भए सरकारका पनि सर्तहरू रहेको मन्त्री बाँस्कोटाको भनाइ छ। "हिंसा गर्न, औजार बनाउन र आतङ्क फैलाउनका निम्ति चन्दा माग्ने भन्ने र कार्यकर्ता छोड अनि मात्र वार्ता भनेर हुँदैन।" उनले विप्लवको दललाई आग्रह गरे, "पहिला हिंसा छोड, अनि वार्ता।"
विप्लवको दलले देशका विभिन्न स्थानमा बेला बखत हुने हिंसात्मक घटनाको जिम्मेवारी लिए पनि सशस्त्र विद्रोहमा उत्रिएको औपचारिक घोषणा गरेको छैन। उसले उल्टै सरकारमाथि हिंसा फैलाएको आरोप लगाउने गरेको छ। विप्लवको दल संविधानविरुद्ध छ। सरकारले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।
गिरफ्तारी बढ्दो
पछिल्ला महिना देशका विभिन्न स्थानबाट उक्त दलका नेता तथा कार्यकर्ताहरू पक्राउ पर्ने क्रम तीव्र देखिन्छ। गत हप्ता नेकपाका केन्द्रीयसदस्य सहित २१ जना दाङबाट पक्राउ परेका थिए। दाङमा भारतीय सीमानजिकै प्रहरीले छापा मार्दा त्यसरी पक्राउ पर्नेमा विप्लवका दाइ पनि छन्। प्रहरीले सोही दलका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीलाई मङ्गलवार चितवनमा गिरफ्तार गरेको छ।
चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले लोहनीलाई जिल्लाको बसेनी भोजाडबाट पक्राउ गरिएको हाम्रा सम्वाददाता ईश्वर जोशीलाई जानकारी दिए। लोहनी तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य थिए। सोमवार सार्वजनिक भएको नेकपाको विज्ञप्तिमा लोहनी दलको केन्द्रीय सदस्य नरहेको उल्लेख थियो। उनको स्वास्थ्यमा समस्या रहेको बताइएको छ।
गृहमन्त्री रामबहादुर थापाले गत साउन महिनामा पत्रकार सम्मेलन गर्दै विप्लवका नेता-कार्यकर्ता नियन्त्रणमा लिने सरकारकाे नीतिले उक्त दल वार्तामा अाउने सम्भावना बढाएको बताएका थिए।
वार्ताबाट समस्या समाधानको निम्ति दुवै पक्ष तयार भए समाधानका सुत्रहरू रहेको राजनीतिक टिप्पणीकारहरू बताउँछन्। तर दुवै पक्ष त्यसको निम्ति तत्काल तयार रहेको देखिएको छैन। बीबीसी बाट