एजेन्सी– युईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ। पीएसजीले बेल्जियन क्लब ब्रगमाथि ५–० को फराकिलो जित निकालेको हो।
पीएसजीको जितमा फ्रान्सका स्टार केलियन एमबाप्पले ह्याट्रिक गरे भने अर्जेन्टिनी स्टार मोउरो इकार्डीले दुई गोल गरे। मंगलबार राति सम्पन्न खेलमा पाहुना टोली पीएसजीले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो। मोउरो इकार्डीले एन्जल डी मारियाको पासलाई गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा थप ४ गोल गरेको थियो। खेलको ६१ औं मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजीले अग्रता दोब्बर बनाएको थियो। त्यस्तै गोलको बर्षा गर्ने क्रममा ६३ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यससँगै पीएसजी खेलमा ३–० ले अगाडि बढेको थियो।
एमबाप्पेले ७९ औं मिनेटमा गोल गर्दा पीएसजी ४–० को बलियो स्थितिमा पुगेको थियो। उनले उक्त गोल डि मारियाको पासमा गरेका थिए। ८३ औं मिनेटमा एमबाप्पेले पुनः गोल गर्दै आफ्नोे ह्याट्रिक पुरा गरे। त्यससँगै पीएसजीले ५–० को फराकिलो जित पक्का ग¥यो।
यस जितसँगै शीर्षस्थानमा रहेकाे अपराजित पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ। पराजित क्लब ब्रग भने २ अंक जोडेर तेस्रो स्थानमा छ।