एजेन्सी– युईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली स्टार केलिएन एमबाप्पेले अर्जेन्टीनी स्टार लियोनल मेस्सीको रेकर्ड भङ्ग गरेका छन्। एमबाप्पे च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
एमबाप्पेले मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा शनसनीपूर्ण ह्याट्रिक गर्दा पीएसजीले खेल ५–० ले जितेको थियो। टीमको जितसँगै एमबाप्पेले व्यक्तिगत रुपमा किर्तिमान बनाउन सफल भएका हुन्।
उनले २० बर्ष र ३ सय २ दिनको उमेरमा १५ च्याम्पियन्स लिगमा १५ गोल गर्न सफल भएका छन्। यसअघि उक्त किर्तिमान अर्जेन्टिनी स्टार लियोनल मेस्सीको नाममा थियो। मेस्सीले उक्त किर्तिमान २१ वर्ष र २ सय ८९ दिनमा १५ गोल गर्दै आफ्नो नाममा गराएका थिए।
२०१८ को विश्वकपबाट चर्चाको शिखरमा आएका एमबाप्पेले विश्वकपको उपाधि फ्रान्सलाई दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए। उदाउँदा युवा खेलाडी एमबाप्पे अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका छन्।