काठमाडौं — खाना पकाउने एलपी ग्यास सिलिण्डरको चुहावट परीक्षण नगरिकनै भित्रयाईएको पाईएको छ।
गुणस्तर तथा नापतौल विभागले उद्योगहरूमा गरेको अनुगमनमा क्रममा परीक्षण नगरीकन सिलिण्डर बजार पठाएको देखिएको हो। उद्योगीहरूले हरेक सिलिण्डरको टेष्ट गर्नुपर्ने अनिवार्य भएपनि नगरेको पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
विभागले सिद्धार्थ, ओम र नेपाल ग्याँसका बोटलिङ उद्योगमा अनुगमन गरेको र उद्योगहरूमा राम्रो पूर्वाधार नभएको, चुहावट परीक्षण नगरेको र कम तौलका ग्यास सिलिण्डरसमेत बजारमा पठाउने गरेको पाइएको महानिर्देशक पुडासैनिले जानकारी दिए।
मापदण्डअनुसार नभए गुणस्तर चिन्ह मापदण्डअनुसार बोटलिङ बन्द गर्ने र उत्पादन अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था रहेको विभागका महानिर्देशक पुडासैनीले बताए। ‘बोटलिङ उद्योगहरूको सिरियसनेस एकदम काम देखिएको छ। लिकेज टेष्टमा धेरै उद्योगहरूको पूर्वाधारहरू पनि राम्रो देखिएको छैन।
यी उद्योगहरूका बढी लिक भएका र पुराना सिलिण्डरहरू पनि उपभोक्ताकोमा पुगेको देखियो।’ हरेक सिलिण्डरको लिक टेष्ट गर्नुपर्नेमा त्यो गरिएको नदेखिएपछि कारबाहीको प्रकृया अगाडि बढाइएको विभागले जनाएको छ। सुधार नगरेसम्मका लागि सिदार्थ ग्याँसका बोटलिङ कार्य नै बन्द गरिएको र ओम र नेपाल ग्याँसलाई स्पष्टीकरण सोधिएको विभागले जनाएको छ।