काठमाण्डौं– विश्वमा पुरुष क्रिकेटको तुलनामा महिला क्रिकेटको चर्चा कम हुने गरेको पाइन्छ। नेपालको हकमा पनि उक्त कुरा लागु हुन्छ। कहिलेकाँही हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मात्र नेपाली महिला क्रिकेटहरुको नाम सुन्ने गरिन्थ्यो।
नेपालमा पुरुष क्रिकेटको लागि घरेलु फ्रेन्चाइज लिगहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन्। अझै यस्ता लिगहरु हुने पर्खाइमा नै छन्। तर अहिले नेपाली क्रिकेटको माहोल महिला क्रिकेटरहरुको कारण तातिरहेको छ। नेपालमा पहिलो पटक घरेलु लिग महिला टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ। बिहिबार उक्त प्रतियोगिताको फाइनल हुँदैछ। ५ टोली सम्मिलित प्रतियोगितामा चितवन राइनोज र क्याट क्विन्स काठमाण्डौंले फाइनलमा स्थान बनाएका छन्।
यहि कारण नेपालमा महिला क्रिकेट अनि क्रिकेटरको चर्चा एकाएक चुलिएको छ। आकलझुकल हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मात्र सिमित नेपाली महिला क्रिकेटरको लागि यो प्रतियोगिता क्षमता प्रदर्शनसँगै क्षमता अभिवृद्धिको लागि कोशेढुङ्गा साबित भएको छ। यस्ता प्रतियोगिताले राष्ट्रिय टोलीको लागि उत्कृष्ट खेलाडी छनोटमा समेत मद्धत गर्नेमा दुईमत छैन।
प्रतियोगितामा शतप्रतिशत जित निकाल्दै चितवन राइनोजले उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ। लिगमा ४ खेल खेलेको चितवनले ४ ओटै खेलमा जित हात पारेको थियो। चितवनले पहिलो खेलमा काठमाण्डौंलाई ५ विकेटले पराजित गरेको थियो। त्यसकारण पनि चितवन फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रँदै पहिलो महिला घरेलु लिगको उपाधि हात पार्ने दाउमा छ।
चितवनको मुख्य हतियारको रुपमा ब्याट्सम्यान ऋतु कनोउजियालाई लिन सकिन्छ। उनले ललितपुरविरुद्धको खेलमा अर्धशतकीय पारी खेलेकी थिइन्। उच्च फर्ममा रहेकी ऋतुले आफ्नो लयलाई निरन्तरता दिने अनुमान गर्न सकिन्छ। त्यस्तै अर्की ब्याट्सम्यान काजल श्रेष्ठ पनि काठमाण्डौंको लागि घातक बन्न सक्छिन्। पोखराविरुद्धको खेलमा शानदार अर्धशतक प्रहार गरेकी उनी पनि चितवनको लागि महत्वपूर्ण खेलाडी हुन्।
चितवनको बलिङमा कविता गौतमले राम्राे प्रदर्शन गरिरहेकी छिन्। काठमाण्डौंको ब्याट्सम्यानविरुद्ध उनी हाबी हुन सक्ने अनुमान गर्न सकिन्छ। उनले विराटनगर टाइटन्सविरुद्धको खेलमा ३ ओभरमा मात्र ५ रन दिएर चितवनको लागि ३ विकेट हात पारेकी थिइन्।
त्यस्तै इलिमिनेटर राउण्डमा विराटनगरलाई ९ विकेटले हराएको काठमाण्डौं फाइनलमा चितवनलाई स्तब्ध पारी लिगमा बेहोरेको हारको बदला लिँदै उपाधि हत्याउने दाउमा हुनेछ। नेपाली राष्ट्रिय महिलमा टोलीको कप्तानी सम्हालिरहेकी रुविना क्षेत्री चितवनविरुद्धको खेलका लागि काठमाण्डाैंकाे मुख्य हतियार हुन्। जारी प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरिरहेकी उनले २ खेलमा अर्धशतक बनाईसकेकी छिन्।
उनले विराटनगरविरुद्धको खेलमा ६७ बलमा नटआउट ८३ रनको विष्फोटक पारी खेलेकि थिइन्। त्यस्तै इलिमिनेटर खेलमा बलिङतर्फ ४ ओभरमा मात्र ४ रन दिँदै ४ विकेट लिएर शनसनी मच्चाएकी रुविना चितवनको लागि टाउको दुुखाइएको विषय बन्न सक्छिन्।
त्यस्तै अर्की ब्याट्सम्यान रोमा थापालाइ काठमाण्डौं मुख्य हतियार मानिएकाे छ। उनी पनि चितवनलाई स्तब्ध पारी काठमाण्डौंको जित सुनिश्चित गर्न सक्ने क्षमता भएकी खेलाडी हुन्। यद्यपी फाइनलमा कसले बाजी मार्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ।