काठमाण्डौं– नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता नभएको दाबी गरेका छन्। काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका कँडेलले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै समाचारहरुमा आएजस्तो भारतीय नागरिकता नभएको जानकारी दिएका हुन्। उनले आफुसँग भारत सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र रहेको बताउँदै आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौति दिएका छन्।
उनले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको बताएका छन्।
पत्रकार सम्मेलनमा नेता कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको जानकारी गराएका हुन्।