काठमाडौँ _संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई ‘सुनथराली विमानस्थल सरोकार समाज’ ले ध्यानाकर्षण पत्र बुझाएको छ।
बुधबार सिंहदबार स्थित मन्त्रालयमा समाजले मन्त्री भट्टराईलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो। सुनथराली विमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविक, राष्ट्रिय युवा संघका नेता मेघराज शाही, युवा गैर सरकारी संस्थाका अध्यक्ष नारायण गिरीलगायतको एक टोलीले ०४२ सालदेखि निमार्णाधिन अवस्थामा रहेको विमानस्थलका बारेमा आवश्यक पहल कदमी चाल्न मन्त्री भट्टराईसँग माग गरेको छ।
मन्त्री भट्टराईले ध्यानाकर्षण पत्र ग्रहण गर्दै विमानस्थलका बारेमा आफूले पहल कदमी चाल्ने आश्वासन दिएको सरोकार समाजका संयोजक वास्तविकले जानकारी दिएका छन्।
सुनथराली विमानस्थल सरोकार समाज, काठमाडाैं मिति २०७६/०७/०६ ध्यानाकर्षण पत्र
माननीय योगेश भट्टराई ज्यु,
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री,
सिंहदरबार काठमाडौँ।
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर १ मा रहेको निमार्णाधिन सुनथराली विमानस्थलको निमार्ण कार्य सुस्त र अस्तव्यस्त रहेको कुरा ध्यानाकर्षण गराउँन चाहन्छौं। २०४२ सालदेखि निमार्ण कार्य सुरू गरिएको सुनथराली विमानस्थल करिब ३४ वर्षसम्म पनि निमार्णको काम सम्पन्न नहुनु विडम्बनाको कुरा हो।
तत्कालिन संस्कृति, पर्ययटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीको सक्रियता र नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीको पहलमा २९ माघ २०७३ मा परीक्षण उडान गरिएको थियो। ६ सय ५० मिटर लामो विमानस्थलमा क्याप्टेन सन्तोष शाहको टीमले तारा एअरको विमान अवतरण परीक्षण उडान गर्न सफल भएपछि स्थानीयले कालिकोट देशका ठूला सहरसँगको हवाई सम्बन्धमा जोडिएको महसुस गरेका थिए। तर, त्यो महसुसले व्यवहारिकता प्राप्त गर्न सकेन।
मन्त्री शाहीले २०७३ फागुनको दोस्रो सातादेखि नियमित उडान गर्ने गरी कार्यालय तथा मानवस्रोत व्यवस्थापनको काम भइरहेको जानकारी दिँदै सम्वद्ध निकायलाई निर्देशनसमेत दिएका थिए। तर, निर्देशन केवल निर्देशनमै सिमित भयो। उनको कार्यकालमा जहाज परिक्षण अवतरण नै उपलब्धि बन्यो । हाल नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारपछि कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बन्यो। देउवा सकारको पालामा विमानस्थलले थप प्रगति गर्न सकेन। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको दुई तिहाई सरकार छ।
वर्तमान सरकारले विकास र समृद्धिलाई मुल मन्त्र बनाएको छ। यसबेला पनि सुनथराली विमानस्थल निमार्ण कार्य सम्पन्न हुन सकेन र नियमित उडानका बारेमा सरकार र मन्त्रालय गम्भीर भएन भने कालिकोटबासी विकास र समृद्धिको नाराबाट बिमुख रहने कुरा जानकारी गराउँदछौं। साथै मन्त्रालयबाट आवश्यक कदम चाल्न र यथासक्य मन्त्री ज्युले सुनथराली विमानस्थलको काम कारबाहीका बारेमा निरिक्षण गर्नका लागि अनुरोधसमेत गर्दछौं।
अर्को कुरा पनि स्मरण गराउँन चाहन्छौं, २०५८ सालमा तत्कालिन माओवादीले अछामको मंगलसेन आक्रमण गरेपछि विद्रोहीको खोजीमा हिँडेको तत्कालिन शाही सेनाले धादिङ जोगिमाराका १७ सहित ३५ जना सर्वसाधारणको लिला समाप्त पार्यो। उक्त घटनाले निमार्णमा अवरोध र सुस्तता मात्रै र्सिजना गरेन, चिहानमाथि जहाज अवतरण गराउँनु पर्ने कहाली लाग्दो इतिहास रच्यो। जनयुद्धको अवधिभर माओवादीका लागि उक्त विमानस्थलको मैदान परेड स्थल र सरकारी सुरक्षाकर्मीका लागि बम खसाल्ने बंकर बन्यो । जे होस् हालको परिर्वतनका लागि कालिकोटले ठूलो योगदान र भूमिका खेलेको छ।
कत्ति महिलाले सुत्केरी हुन नसकेर अनाहकमा ज्यान गुमाउनु परेको दुःखद अवस्था छ। उक्त विमानस्थल नियमित सुचारू गर्न सकेको खण्डमा संकटमा परेका महिलाले नयाँ जीवन पाउने छन्। बिरामीले थप जीवन पाउनेछन्। कालिकोट छरितो रूपमा देशका अन्य सहरसँग हवाईमार्गबाट सम्बन्ध राख्नेछ र पर्यटन क्षेत्रमासमेत टेवा पुग्ने हाम्रो विश्वास छ। धन्यवाद।
बोधार्थः संयोजक
सुनथराली विमानस्थल सरोकार समाज (काठमाडौं) धनराज वास्तविक
९८४८११५५७२