काठमाडौँ _ चिनियाँ राष्ट्रपति सी चिङफिङ नेपालको दुईदिने भ्रमणबाट फर्केलगत्तै अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ।
नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीले पश्चिमा शक्तिहरुलाई इंगित गर्दै चीनको विभाजन चाहने र त्यस्ता गतिबिधि गर्नेहरुलाई धुलोपिठो पार्ने चेतावनी दिएका थिए।
अमेरिकाकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विदेश सहायकमन्त्री एलिस जी वेल्सले बुधबार एक संसदीय उपसमितिमा दिएको लिखित वक्तव्यमा चिनियाँ प्रभाव बढेका कारण दलाई लामाको जन्मदिन मनाउन पनि नेपालमा रोक लगाइएको उल्लेख गरेकी छन्।
अमेरिकी सहायकमन्त्रीको वक्तव्यमा नेपालको संविधान र अन्तर्रा्ष्ट्रिय प्रतिबद्धताहरुमा आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न पाइने भनिए पनि धार्मिक स्वतन्त्रतामाथि व्यवहारिक चुनौती कायमै रहेको उल्लेख गरेकी छन्। सहायकमन्त्री एलिसले भनेकी छन्, ‘सन् २०१८ मा ल्याइएको फौजदारी संहितामार्फत दबाबमा धर्म परिवर्तनलाई बन्देज लगाएको छ। यसले धार्मिक अल्पसंख्यक समूहलाई जोमिखमा पारेको छ।’
उनले नेपालले नागरिक अधिकारको संरक्षणमा भने उल्लेख प्रगति गरेको उल्लेख गरेकी छन्। सञ्चार क्षेत्र तथा राजनीतिक स्वतन्त्रतातर्फ पनि नेपालले प्रगति गरेको उनले वक्तव्यमा उल्लेख गरेकी छन्।