एजेन्सी–च्याम्पियन्स लिग फुटबलमा कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले स्लाविया प्रागमाथि संघर्षपूर्ण जित निकालेको छ।
च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा बार्सिलोनाले बुधबार राति उसैको घरेलु मैदानमा स्लावियालाई २–१ गोलले पराजित गरेको हो। खेलको तेस्रो मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो गोलसँगै कप्तान मेस्सी च्याम्पियन्स लिगको लगातार १५ औं सिजनसम्म गोल गर्ने खेलाडी बने।
पहिलो हाफसम्म मेस्सीकै गोलको कारण बार्सिलोनाले १–० गोलको अग्रता बनाएको थियो। तर खेलको ५० औं मिनेटमा जान बोरिलले गोल गर्दै स्लावियालाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ५७ औं मिनेटमा पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ गोलअन्तरले अघि रह्यो। बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि बार्सिलोनाले जित हात पारेको हो।
त्यस्तै, समूह ‘एफ’अन्तर्गत नै भएको अर्को खेलमा इन्टर मिलानले बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ। बोरुसिया डर्टमन्डलाई २–० गोलअन्तरले पराजित गर्ने क्रममा पहिलो हाफमा र दोस्रो हाफमा समान १–१ गोल गर्दै इन्टर मिलानले जित हात पारेको हो।