काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रकाे रिलिजका लागि शो पाउन एकदम कठिनाई भएको छ। कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने भनेकाे चलचित्र ‘घामड शेरे’ को रिलिज मिति सरेकाे छ।
फिल्मकाे निर्माण पक्षले रिलिजको २ दिन अगाडि आफ्नो प्रदर्शन मिति पछि सारेको हाे। चलचित्रको आज मात्र मल्टिप्लेक्समा शोज खुलेको थियो। तर, मल्टिप्लेक्सले न्यून शो उपलब्ध गराएपछि चलचित्रको रिलिज मिति नै पछि सारिएकाे बताइएकाे छ। चलचित्रको वितरण कम्पनिले चलचित्रको प्रदर्शन मिति कात्तिक २२ मा सरेको जानकारी गराएको छ।
यस विषयमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेतले सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस लेखेका छन्। उनले आफ्नो अगाडि अब कुनै वितरक, हलवाला र केही चलचित्रकर्मीले नेपाली चलचित्रको विकासका लागि काम गर्दैछौँ भनेर गफ नचुट्न चेतावनी दिएका छन्। नेपाली चलचित्रकाे हितका लागि कति काम गरिरहेका छाै भन्ने याे कुराले प्रष्ट भइसकेकाे निश्चलले बताएका छन्।
यो मितिमा चलचित्र ‘पोई पर्यो काले’ पनि रिलिज हुँदैछ। अब, पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ अभिनित चलचित्र सोलो रिलिज हुने भएको छ। काठमाण्डौको क्यूएफएक्सले आफ्नो चेनमा दुई नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्र ‘हाउसफूल ४’लाई चार गुणा बढी शोज उपलब्ध गराएका थिए।