काठमाडौं– नेपाली गीत संगीतले पछिल्लो समय राम्रो फड्को मार्दै आएको छ।
केवल पाँच लाख जनसंख्या भएको युरोपेली देश माल्टाको स्टेजमा पहिलोपटक नेपाली संगीत स्टेजमा गुञ्जने भएको छ। दीपावलीको अवसरमा एनआरएनए माल्टाले आयोजना गर्ने कार्यक्रममा गायकद्वय हिमाल सागर र आशिष सचिनले सांगीतिक प्रस्तुति दिनेछन्।
युरोपका विभिन्न देशमा नेपाली गायक–गायिकाले सांगीतिक भ्रमण गर्दै आए पनि माल्टा भने अछुतो थियो। अहिले यहाँ ३ हजार ५ सयको हाराहारीमा नेपाली छन्। गायक हिमाल सागरले यो आफैंमा ‘भर्जिन’ कार्यक्रम भएको भन्दै निकै उत्साहित रहेको बताए।
‘त्यहाँ रहेका नेपालीहरुमा पनि यो कार्यक्रमलाई लिएर निकै उत्साह रहेको पाएको छु,’ उनले भनेका छन्। सांगीतिक भ्रमणका लागि आजै गायकद्वय युरोप प्रस्थान गर्दैछन्। २६ अक्टोबरमा माल्टाको मिसिडा फुटबल ग्राउन्डमा ओपन कन्सर्ट आयोजना हुनेछ। टिकट मूल्य १० यूरो तोकिएको छ।
माल्टापछि फ्रान्स, नेदरल्यान्ड र चीनको ग्वान्झाउमा समेत कार्यक्रम रहेको हिमालले जानकारी दिए। ग्वान्झाउको कार्यक्रमपछि उनीहरु नेपाल फर्कनेछन्।
हिमाल सागर लामो समयदेखि आधुनिक संगीतमा चर्चित नाम हुन्। उनका हरेक सृजनाले उत्तिकै लोकप्रियता पाएका छन्, भने गायक आशिष सचिन ‘पिरिम नलाउने’ गीतबाट चर्चामा आएका हुन्।