काठमाडौं – कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को ट्रेलर भर्खर मात्र सार्वजनिक भएको छ। देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ।
चलचित्रको ट्रेलर हेर्दा नायक केसी भिलेनको रुपमा देखिएका छन्। निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ ।
यो चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रबाट साहिल श्रेष्ठ र कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन्। साहिल र भूवनको टकराव चलचित्रमा हेर्न पाइनेछ।
चलचित्रले विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई प्रस्तुत गरेको छ। निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए। ‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ देश प्रतिको माया मदैंन भन्ने मुल मर्म चलचित्रले बोकेको छ।