काठमाडौं — सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि पुनःअदालत लगिने तयारी भईरहेको छ।
आइतबार जिल्ला अदालत काठमाडौंले उनीमाथि अनुसन्धान गर्न आजसम्मको समय दिएको थियो। अनुसन्धान नसकिएपछि महरालाई म्याद थपको लागि पुनः अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ।
अनुसन्धान नसकिएकाले म्याद थप गर्न लैजाने तयारी छ। हामीले कानुन अनुसार २५ दिनसम्म अनुसन्धान गर्न पाउँछौं,’ उनले भने,’बाँकी अवधि माग्ने भन्ने छ,’ काठमाडौं प्रहरीका एसपी उत्तम सुवेदीले भने।
महरालाई थुनामा राखेको १८ दिन पुगेको छ। प्रहरीले अझै ७ दिनसम्म उनलाई हिरासतमै राखेर अनुसन्धान गर्न पाउँछ। आइतबार उनको बयान सकिएको थियो।
रोशनी घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतको जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोगशालामा पठाएको थियो। कतिपयको रिपोर्ट आए पनि कतिपयको आइनसकेको सुवेदीले जानकारी दिए। रोशनीको शरीरमा देखिएका कालो धब्बा र चोट कुटपिटकै कारणले लागेको रिपोर्ट आइसकेको छ।
महरा भने गम्भीर बिरामी भएको भन्दै अहिले उनी नर्भिक अस्पतालमा उपचाररत छन्। असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप उनीमाथि लागेको छ। घटना भएको राति नै रोशनीले प्रहरी बोलाएर महराले आफूमाथि बलात्कार कोशिस गरेको र नमान्दा पिटेको बताएकी थिइन्।
प्रहरीले त्यही रात रोशनीको शरीरमा भएका निलडामहरू, उनको कोठा र उजुरीको रेकर्ड गरेर ल्याएको थियो। घटना भएको कुरा मिडियामार्फत् सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टीले उनलाई सभामुख र संसद पद दुवैबाट राजीनामा दिन भनेको थियो। महराले भने सभामुखबाटमात्र राजीनामा दिएका छन्।