काठमाडौं– वुमन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ। बिहिबार भएको फाइनल खेलमा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले हराएको हो।
१ सय १३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ६७ रनमा अलआउट भयो। काठमाडौंको पारीमा कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। अप्सरी बेगमले सर्वाधिक १५ रन बनाइन् भने इश्वरी विष्टले १३ तथा ममता थापाले १३ रन बनाइन्। चितवनको बलिङमा सुमन खतिवडाले शानदार प्रदर्शन गरिन्।
उनले किफायती बलिङ गर्दै ४ ओभरमा ११ रन दिएर ३ विकेट लिइन्। त्यस्तै ऋतु कनोउजियाले ४ ओभरमा ७ रन दिएर ३ विकेट लिइन्। रेखा रावलले ४ ओभरमा ९ रन दिएर २ विकेट लिइन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो। चितवनको लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन्। उनले २५ बलमा ५ चौका प्रहार गरेकी थिइन्। अर्की ब्याट्सम्यान इन्दु बर्माले नटआउट २२ रन, काजल श्रेष्ठले २१ रन तथा कञ्चन श्रेष्ठले १९ रन बनाइन्।
काठमाडौंको बलिङमा संगिता राईले ३ ओभरमा १७ रन दिँदै १ विकेट लिइनर भने लक्ष्मी साउद र सरस्वती कुमारीले समान एक एक विकेट हात पारे।