काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन अन्तिम कसरतमा जुटेको छ।
उपनिर्वाचनका लागि पार्टीका सम्बन्धित जिल्ला र स्थानीय निकायबाट सिफारिस भई आएका नामावलीमाथि काङ्ग्रेसले मङ्गलबार र बुधबार पदाधिकारी तहमा छलफल गरेको थियो।
पदाधिकारी तहको छलफलपछि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुङ्गो लगाउन र उपनिर्वाचनको तयारी बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मङ्सिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।