वीरगञ्ज– केहि समयअघि मनपरी शुल्क उठाएको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका थिए। त्यसपश्चात सरकारले मेडिकल कलेजलाई तोकिएको भन्दा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको थियो।
तर नेसनल मेडिकल कलजेले नियम विपरीत अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। बसरुद्दिन अन्सारीले सञ्चालन गरेको उक्त कलेजले विभिन्न बहानामा पैसा असुल्ने गरेको विद्यार्थीको आरोप छ।
चिकित्सा शिक्षा संघर्ष समितिका अनुसार कलेजले अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले मनपरी शुल्क उठाउने गरेको छ। नेपाल सरकारले तोकेको शुल्क विपरीत कलेजले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले वीरगञ्जमा प्रदर्शनसमेत गरेको छ।
एमबीबीएस अध्ययनका लागि सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याजको पहिलो वर्षका विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको पाइएको छ।
उक्त कलेजले ने परीक्षा, रजिष्ट्रेसनबापत ३५ हजार रुपैयाँ, लाइब्रेरी शुल्क भन्दै ३५ हजार, ल्याब शुल्क ३५ हजार, ‘प्रमोसन’ बापत १ लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, बिलम्ब शुल्क १६ हजार ८ सय र अन्य गरेर ४० हजार रुपैयाँ नियम विपरीत लिएको पाइएको हो।