ऐजेन्सी–फौजदारी अभियोग लागेका विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्काउने पहल तीव्र पारेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फौजदारी अभियोग लागेका विदेशिएका नेपालीहरूको खोजी उनीहरूको नाम अन्तर्रा्ष्ट्रिय फौजदारी प्रहरी सङ्गठन इन्टरपोलको रेडकर्नर नोटिसमा राखेर वा सूचनात्मक परिपत्र गरेर भइरहेको छ। नेपालका फरार अभियुक्तहरुलाई विदेशी प्रहरीले नेपाल बुझाएका घटना सार्वजनिक भइरहेका बेला बाँकी अभियुक्तहरुलाई पनि फिर्ता ल्याउन पहल गरिएको बताइएको छ।
पछिल्लो छ वर्षमा रेडकर्नर नोटिस वा सूचनात्मक परिपत्रको आधारमा विभिन्न मुलुकबाट २२ जनालाई नेपाल ल्याइएको र नेपालले सात जनालाई विदेशी प्रहरीलाई सुम्पिएको प्रहरीको तथ्याङ्क छ।
अमेरिकाबाट फिर्ता
बलात्कारको अभियोगमा दोषी ठहर भएर फरार रहेका एक नेपालीलाई १९ वर्षपछि रेडकर्नर नोटिसका आधारमा अमेरिकाले पक्राउ गरेर बुधवार नेपाललाई बुझाइएको थियो। भारतबाहेक अरू देशसँग सुपुर्दगी सन्धि नभए पनि ती देशका प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ परेको स्थानबाट जहाजमा चढाएर पठाइदिने र नेपाल प्रहरीलाई जानकारी दिने गरेका छन्। सन २०१९ मा मात्रै नेपालले रेडकर्नर नोटिसमा राखेका चारजनालाई नेपाललाई बुझाएका छन्। हालसम्म नेपालले ८७ जनालाई रेडकर्नर नोटिस र ७२ जनालाई खोजीका लागी सूचनात्मक परिपत्र गरिएको प्रहरीको तथ्याङकले देखाउँछ।
फरार अभियुक्तहरूको कसुर
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलका अनुसार तीमध्ये केही नेपालमा पक्राउ परेका छन् भने केही अझै पनि फरार अभियुक्तकै सूचीमा रहेका छन्। फरार अभियुक्तको सूचीमा रहेकाहरु मानव बेचबिखन, हत्या, बलात्कार, अपहरण र ठगी जस्ता अभियोग लागेकाहरू पनि रहेको अधिकारीहरु बताँउछन्। इन्टरपोलका सदस्य राष्ट्रहरुको विभिन्न समयमा हुने सम्मेलन र छलफलले विभिन्न देशका फरार अभियुक्तहरु सम्बन्धित देशमा पठाउन सहज भएको उनीहरु बताउछन्।
निरन्तर अनुगमन
नेपाल प्रहरीले पनि निरन्तर खोजी जारी राख्ने गरेको डिआइजी पोखरेलको भनाइ छ। उनले भने, “हामी इन्टरपोलका सदस्य राष्ट्रहरूसँग त्यस्ता अभियुक्त फर्काउन निरन्तर सम्पर्कमा रहने गर्छौँ।’’अदालतले वारेन्ट जारी गरेका फरार अभियुक्तहरुलाई रेडकर्नर नोटिसमा र अदालतले वारेन्ट जारी नगरेका फरार अभियुक्तहरूलाई सूचनात्मक परिपत्रमार्फत खोजी गर्ने गरिन्छ।बीबीसी