काठमाडौं– ‘मिडिया हव र सक्किगोनी’ हास्य टेलिसिरियल बीचको विवादले केही समय निकै चर्चा पायो। तर अब भने यो विवाद मिलेको छ।
हास्य टेलिसिरियल भद्रगोल छाडेका कलाकारले उही पात्र राखेर सक्किगोनी टेलिसिरियल सुरु गरेपछि दुई पक्षबीच विवाद बढेको थियो। पात्रहरू आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीमा गरेको थियो।
तर, अहिले भने यी दुई पक्ष जारी विवाद टुंग्याउन सहमत भएका छन्। सक्किगोनिका कलाकार कुमार कट्टेलले मिडिया हब प्रा.लि र ‘सक्किगोनी’ हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंग्याइएको बताएका छन्। दुई पक्षबीच कसरी समझदारी बन्यो भन्नेबारे केही नखुलाए पनि आगामी दिनमा दुवै पक्षले यसमा विवाद नगर्ने सहमति जनाएकाे उनको भनाइ छ।
मिडिया हब प्रा.लि र सक्किगोनी हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंगोमा पुर्याइएको छ’, कट्टेलले फेसबुकमा लेखेका छन्, ‘हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरुले नियमित रूपमा हेर्न पाउनुहुनेछ।’
कलाकार र सर्जकको मिडिया हब प्रा.लिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने उनले बताएका छन्। साथै आगामी दिनमा यस्ता कमी कमजोरीमा हामी सबै सचेत रहने पनि उनीहरुले बताएका छन्।