काठमाडौं– मिठाईको पर्व तिहार नजिकिँदै छ । चाडपर्व हो भनेर मानिसहरूमा स्वास्थ्यको ख्याल नै नगरी जथाभावी खानेकुरा खाने बानी रहेको रहेको हुन्छ तर, यसरी मनलागी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ।
तिहारको समयमा प्रयोग हुने धेरैजसो बजारिया खाद्य सामग्री अस्वस्थ पाइने गरेको समाचार हामी सुन्दै आईरहेका छौँ। मिठाईका परिकार पनि अस्वस्थ हुने गर्दछन। तिहारको वेलामा मिठाई पसलमा भिडभाड देखिन्छ । तसर्थ, तिहारको समयमा खरिद गरिने मिठाई अस्वस्थ हुन पनि सक्छ । बाहिरबाट हेर्दा राम्रो देखिन्छ तर, खाँदा त्यस्ता वस्तुले स्वास्थ्यमा नराम्रो असर गर्छ।
चाडपर्वमा स्वास्थ्यमा सुरक्षित हुनु महत्वपूर्ण हुन्छ । तिहारको वेला मानिसहरू मिठाईको प्रयोग धेरै गर्छन्। धेरै मिठाई खाँदा प्रत्यक्ष रूपमा स्वास्थ्यमा असर पर्छ । जो मानिस दीर्घरोगबाट ग्रसित रहेका छन, जस्तै डाइबिजिट, मुटुरोग, मधुमेह, उच्चरक्तचापजस्ता रोग भएका मानिसले सकेसम्म कम मिठाई खानुपर्छ ।
बजारमा पाइने मिठाई अत्यधिक चिल्लो मिसाइएको हुन्छ । त्यसैगरी, अखाद्य रगंहरू मिसाइएको हुन्छ। जसको प्रयोगले हात तथा छालामा एलर्जी हुने गर्दछ। तिहारमा मिठाई खानैपर्छ भन्ने पनि छैन। रमाइलो गर्नका लागि अन्य उपायद्वारा पनि गर्न सकिन्छ । रमाइलोकै लागि भनेर रक्सी अन्य खाद्य पदार्थ पनि धेरै खानु राम्रो होइन।
हामीमा नाम चलेको ठाउँबाट किनेको मिठाई राम्रो हुन्छ भन्ने भ्रम रहेको छ। बजारमा राखिएका मिठाईमा धेरै चिल्लो हुन्छ । जुन मिठाईलाई बारम्बार एउटै तेलमा पकाइएको हुन्छ । त्यसले यस्तो किसिमको वस्तु उत्पादन गर्छ कि, मुटुलाई प्रत्यक्ष रूपमा असर गर्ने गर्दछ । घरमा बनाएको मिठाईको सामग्री बजारको भन्दा अत्यन्तै राम्रो हुन्छ। तिहारमा दाजुभाइलाई मरमसला दिने गरिन्छ। त्यो एकदम राम्रो चलन हो मरमसला भएको नरिवल, छोकडा, काजु, किसमिस, बदाम स्वास्थ्यबद्र्धक सामग्री हो।
हरियो तरकारी अहिले प्रशस्त मात्रामा पाइने गर्छ। तिहारमा सेल रोटीको साथमा हरियो तरकारी खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ। चाडपर्वमा पाइने बजारका गुलिया मिठाईमा गुणस्तरहीन र पटक–पटक प्रयोग गरिएको तेलको प्रयोग हुन्छ । खानेकुरामा हालिने रंग नहाली कपडामा हाल्ने रंगको प्रयोग गरिएको हुन्छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गर्छ। त्यसैले बजारको मिठाई सकेसम्म प्रयोगै नगर्ने र गर्नैपरे पनि कम प्रयोग गर्नुपर्छ। मिठाईमा प्रायः मैदा र चिनी प्रयोग गरिएको हुन्छ। गुलिया मिठाईमा गुणस्तरहीन र पटक–पटक प्रयोग गरिएको तेलको प्रयोग हुन्छ । चिनी र मैदा पनि स्वास्थ्यका लागि अधिक हानिकारक हुन्छन।
मिठाईमा राखिने टल्किने वस्तुमा आल्मुनियम मिसावट गरिएको हुन्छ। मिठाईमा पहिला नबिकेका सामग्री तथा म्याद नाघिसकेका पिठो, तेल घिउको समेत प्रयोग हुने गर्छ। सडेगलेका र मिसावटयुक्त खाद्य पदार्थको उपभोग गर्दा झाडा पखला, टाइफाइट, फुड पोइजन, पेट दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ।
धेरैबेर भोकै बसेर चिल्लो खाँदा ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । चिल्लोका कारण एसिडिटी बढेर डकार आउन सक्छ। धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ ।
चिल्लो खाँदा धेरै कब्जियत हुन सक्छ। चिल्लोले अमन भएर खानेकुरा रुचि नहुन सक्छ। त्यसैले सागपात, फलफूलजस्ता रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ। तिहारमा धेरै चिल्लो तथा गुलियो खानेकुरा बनाइने हुँदा स्वास्थ्यलाई ध्यान दिएर खानु बुद्धिमानी हुन्छ ।