काठमाडौं – नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अहिले एकदमै रुचाइएको जोडी हो। उनीहरुले पर्दामा चौथो पटक सहकार्य गर्ने भएका छन्।
पूजा र आकाशको मुख्य भूमिका रहने चलचित्र ‘संझना विर्सना’ को आज शुभसाइत गरिएको छ। भद्रकाली मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो। यो चलचित्र पूर्ण रुपमा प्रेम कथामा बन्नेछ।
चलचित्रको छायांकन दार्जिलिङ्ग, सिक्किम र नेपालमा हुनेछ। निमेष प्रधानले निर्देशन गर्ने चलचित्रमा आदित्य प्रधान र रेविका प्रधानको लगानी रहनेछ। चलचित्रमा सुनिल थापा, शिशिर राणा, चाँदनी प्रधानको मुख्य भूमिका रहनेछ। आदित्य फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई शिव ढकालले खिच्नेछन्। कात्तिकको २१ गतेबाट यो चलचित्रको छायांकन सुरु हुने भएको छ।
पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ आजबाट देशभर रिलिज भएको छ। यी दुई अभिनित ‘रामकहानी’ रिलिज भैसकेको छ भने ‘सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छ। यो जोडीलाई निर्माता निर्देशकले कसले कति बढी पारिश्रमिकमा राख्ने भन्ने होड्बाझी नै चलेको छ।