एजेन्सी– एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना तोकेको छ। एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स दिएको एएफसीको आरोप छ।
बुधबार बसेको एएफसीको बैठकले सजाय स्वरुप एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना तिराउने भएको छ। एएफसीका अनुसार एन्फाले क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स दिएको पाइएको हो।
एएफसीलाई फिफार्ले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली शुरु गर्न निर्देशन दिएको थियो। सोहीअनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो भने उनै ९ क्लबलाई एएफसीले क्लब लाईसेन्स प्रदान गरेको थियो।
एन्फाले पुनः यस्तो गल्ती गरेमा दुई बर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिवाना गर्ने एएफसीले चेतावनी दिएको बताइएको छ।