काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सीप सिकेर व्यवसायिकतामा लाग्न आग्रह गरेका छन्।
मानवअधिकारका लागि महिला, एकल महिला समुहद्वारा सञ्चालित हाम्रो आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभालाई आज (शुक्रबारं) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले महिलालाई सीप सिकेर व्यवसायिकतामा लाग्न जोड दिएका हुन्।
उनले भनिन्, ‘अबको बाटो उत्पादन, ब्यवसायिकताकै बाटो हो। कृषिमा काम गर्नेहरूले जमिन एकैठाउँमा एकिकरण गरेर व्यवसायिक रूपमा सामुहिकतामा ठूला फार्महरू सञ्चालन गरौं।’ यी कुराहरूलाइ सरकारले प्रोत्साहन गर्ने मन्त्री अर्यालले बताइन्।
‘समाजमा रहेको विभेदहरू कम हुदै गएको प्रसंगमा महिलाहरूमाथिको सामाजिक, आर्थिक, धार्मिक एवं सांस्कृतिक विभेदहरू कम हुदै गएका छन्’, मन्त्री अर्यालले भनिन्। हिजो परनिर्भर बनेका महिलाहरू आज आत्मनिर्भर बन्नेतर्फ अगाडी बढिरहेको भन्दै उनले सिप सिकेर आत्मनिर्भर बन्ने अभियानमा दह्रो संकल्प सहित अगाडी बढ्न आग्रह गरिन्। घरभित्र बस्ने महिलाहरू व्यवसायी बन्दै गएको भन्दै उनले यस्ता गतिविधिले गौरवको अनुभूति हुने बताइन्।
महिला आन्दोलन उत्साहित हुनुपर्ने ठाउँमा भएको भन्दै उनले अबको जमाना आत्मनिर्भरता, सीपको, क्षमताको जमाना भएकोमा जोड दिइन्। संस्थालाई आधार मानेर समृद्धिको दिशामा अगाडी बढ्न आग्रह गर्दै उनले यही बाटोबाट नै महिलाहरू आत्मनिर्भर हुन सक्ने बताइन्। चुनौतीहरू थुप्रै भएपनि ती चुनौतीहरूलाई जितेर अगाडी बढ्नुपर्ने उनको भनाइ थियो।
समाजमा रहेका महिलालाई विभेद गर्ने सबै कुराहरू खोजीरखोजी त्यसको अन्त्य गर्नुपर्ने उनले बताइन्। अब यहाँ भएका महिलाहरूको जीवनस्तर माथि उठाउन अभियानले प्रसंशनीय काम गरेको भन्दै उनले सरकार उक्त कार्यप्रति नतमस्तक रहेको बताइन्। महिला हिजोपनि कमजोर नभएको र आजपनि कमजोर नभएको भन्दै मन्त्री अर्यालले हाम्रा मूल्यमान्यता, सोचहरूले कमजोर बनाइएको बताइन्।