काठमाडौँ _ उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग लाग्ने बारेमा कुनै जानकारी नै नरहेको देखाएको छ।
कार्यस्थलमा रहेको ७५ प्रतिशत मजदूरलाई इँटाभट्टा र वरिपरिबाट निस्कने धुलो र धुवाँका असरका बारेमा जानकारी नभएको आज यहाँ सार्वजनिक एक अध्ययनले जनाएको छ। प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामक गैरसरकारी संस्थाले काठमाडौँ उपत्यकाका इँटाभट्टामा गरेको अध्ययन प्रतिवेदनमा इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोगसमेत पाइएको पनि जनाएको छ।
अध्ययन प्रतिवेदनअनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र निमोनिया भएको देखिएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोशीले नेपालमा वर्षेनी व्यवसायजन्य दुर्घटनामा २०० भन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिए।
उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित बनाउन मन्त्रालयले निर्देशन दिएको उनले जानकारी दिए। अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह रहेको र मजदूरले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको प्रतिवेदन सार्वजनिक गरे उनले श्रमिकको वासस्थान चार फिटभन्दा अग्लो नभएको, भुइँको चिसोमा सुत्न बाध्य भएको, शौचालय अव्यवस्थित र खानेपानी पनि अस्वस्थकर पाइएको जानकारी दिए।
नेपाल इँटा उद्योग व्यवसायी महासङ्घका महासचिव केपी अवालले इँटाभट्टामा कार्यरत श्रमिक मौसमी हुने भएकाले वर्षेनी कामदार फेरिने गुनासो गर्दै श्रम ऐनअनुसार मजदूरलाई सेवा सुविधा दिन कठिन अवस्था रहेको छ भने। उनले भने, “महासङ्घ व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको छ।”
कार्यक्रममा पाँचवटा प्रदेशमा इँटा प्रयोगशाला स्थापनाको तयारी भएको जानकारी दिइयो। आयोजक संस्थाका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले मजदूरको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन बढ्ने बताए। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा सरकार तथा रोजगारदाताले ध्यान दिएका छैनन् भने।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्र कुँवर र जनस्वास्थ्य अभियन्ता प्रा डा शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्बन्धमा नेपालमा खासै अध्ययन नभएको बताए। रासस